अधिक तरलता भएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदै

मंसिर १७, २०७७ | काठमाडौं

बैकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । निक्षेप संकलनमार्फत २८ दिनका लागि आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागिएको केन्द्रीय बैंकले जनाएका । 

सो निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी भने पुस १५ गते हुनेछ । ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले अधिक तरलता कम गर्न यसअघि पनि बजारबाट पैसा उठाउँदै आएको छ । सो प्रक्रियामार्फत पटकपटक गरी अहिलेसम्म १ सय २० अर्ब रुपैयाँ तानिसकेको छ । छोटो अवधि र सानो परिमाणमा पैसा उठाउँदा वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि अहिले एकैपटक ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

गत असोजसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ७ दशमलव ७३ प्रतिशत छ । २०७६ असोजमा यस्तो दर ९ दशमलव ५६ प्रतिशत थियो । असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५ दशमलव ४५ प्रतिशत र कर्जाको ब्याजदर ९ दशमलव ८३ प्रतिशत छ । अघिल्लो वर्षको सोही असोजमा निक्षेपको औसत ब्याजदर ६ दशमलव ७५ र कर्जाको ११ दशमलव ९८ प्रतिशत थियो ।


प्रतिक्रिया