निर्वाचनको तयारीमा जुट्यो नेपाल प्रहरी

पुस २३, २०७७ | काठमाडौं

आगामी बैशाखमा दुई चरणमा हुने तय भएको मध्यावधि निर्वाचनलाई लक्षित गदै नेपाल प्रहरीले तयारी तीब्र पारेको छ । प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु भएको छ । 

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउन सुरु गरेको हो । चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको एआईजी विश्वराज पोखरेलले बताउनुभयो । 

विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी चुनावको सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको उहाँको भनाई छ । सरकारले घोषणा गरेको चुनाव निष्पक्ष तथा धाँधली र भय रहित वातावरणमा सम्मपन्न गर्न नेपाली प्रहरी सक्षम रहेको एआईजी पोखरेलले बताउनुभयो ।

यस पटकको चुनावमा पनि प्रहरी प्रधान कार्यालयले प्रतिवन्धित नेत्रविक्रम चन्द समूहलाई चुनौती ठानेको छ । अघिल्लो चुनावमा पनि प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले बम विष्फोट, उम्मेद्वार लक्षित आक्रमण गरेको थियो । त्यसैले आगामी चुनामा हुन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरीले विशेष योजना अघि सारेको छ ।

सोही अनुरुप प्रहरी प्रधान कार्यालयले चन्द समूहको प्रभाव रहेको क्षेत्रहरुको पहिचान र वर्गीकरणलगायतका काम पनि सुरु गरेको छ । म्यादी प्रहरी भर्ना भने गृहमन्त्रालयको निर्देशनपछि सुरु हुने एआईजी पोखरेलले बताउनुभयो । तर, आगामी चुनावका लागि ९० हजार बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका प्रहरी प्रधान कार्यालयले तयार पारिसकेको छ । चुनाव हुनभन्दा ४५ दिनअघि म्यादी प्रहरी भर्ना गरिसक्नु पर्ने र १५ दिनसम्म तालिम दिएर फिल्डमा खटाउनुपर्ने प्रारम्भिक खाकामा उल्लेख छ ।  


प्रतिक्रिया