बेलायतबाट फर्किएका तीनजनामा नयाँ स्वरुपको कोरोना भाइरस पुष्टि

माघ ५, २०७७ | काठमाडौं

बेलायतबाट फर्किएका तीन जनामा आनुवंशिक गुण परिवर्तन गरेको नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत पुसमा बेलायतबाट फर्किएका मध्ये कोरोना संक्रमण पुष्टि भएका ८ जनाको स्वाव संकलन गरि हङकङमा पुन: परिक्षण गर्दा ३ जनामा नयाँ स्वरुपको भाइरस पुष्टि भएको हो । 

हङकङको प्रयोगशालाबाट इमेल मार्फत आज सो जानकारी प्राप्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय २ पुरुषमा कोरोनाको नयाँ भाइरस संक्रमण पुष्टि भएको हो । ६७ वर्षिय पुरुष उपचारकै क्रममा रहेपनि अन्य २ जना भने संक्रमण मुक्त भइसकेका छन् । विश्वका करिब ३ दर्जन मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण फैलिसकेको छ ।

भाइरस संक्रमण फैलन नदिन विशेष सावधानी अपनाएको मन्त्रालयले जनाएको छ । विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा बस्न तथा स्वास्थ्य सावधानी अपनाउन निर्देशन दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।

यसैबीच बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण नेपालमा पुष्टि भएपछि थप स्वास्थ्य सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसअघिको कोरोना भाइरस संक्रमणको तुलनामा यसको प्रसार दर ७० प्रतिशत बढी रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड कडाईका साथ अपनाउन उनीहरुले सुझाएका हुन् । वरिष्ठ संक्रामक रोग विषेशज्ञ डा शेर बहादुर पुनले यसको प्रसार दर धेरै भएपनि मृत्युदर भने कोभिड १९ को जस्तै रहेको उल्लेख गर्नुभयो । तथापि प्रसार दर बढी रहेका कारण संक्रमणको जोखिम बढी हुने भन्दै सावधानी भने अपनाउनु पर्ने उहाँको भनाई छ । 


प्रतिक्रिया