आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने उखु किसानको तयारी

माघ ६, २०७७ | काठमाडौं

सरकारसँग भएको पछिल्लो सहमति बमोजिम बक्यौता रकम नपाएपछि उखु किसानहरु सरकारसँग रुष्ट देखिएका छन । सरकार आफैले गरेको सहमति कार्यान्वयन नगरेर किसानहरुलाई पुन: धोका दिएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताउनुभयो । 

सरकारसँग भएको सहमतिअनुसार अन्तिम समयसीमा हिजोसम्म पुरा बक्यौता रकम नपाएपछि आज छलफल गरेर संघर्षका आगामि कार्यक्रम सार्वजनिक गर्ने किसानहरुको तयारी छ । आफैले गरेको निर्णय कार्यान्वयन गर्न सरकार पछि हटेपनि आफुहरुले पाउनुपर्ने बक्यौता रकम लिएरै छाड्ने रायले बताउनुभयो । 

बक्यौता रकमको माग गर्दै झण्डै १६ दिनसम्मको आन्दोलनपछि उखु किसान र सरकारबीच गत पुष १३ गते बिच चारबुँदे सहमति भएको थियो । सम्झौतापत्रमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्रालयले किसानलाई भुक्तानी गर्नुर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउन व्यवस्था गर्ने उल्लेख छ । 

सहमतिको समय हिजो सकिएपनि किसानहरुले अझै १९ करोड २० लाख भुक्तानी पाउन बाँकी छ । उद्योग मन्त्रालयले गृह मन्त्रालयमा बुझाएको विवरण अनुसार चिनि मिलसञ्चालकले ७० करोड ५८ लाख मध्ये हिजो दिउँसोसम्म ५१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्कमै आउन नचाहेको किसानहरुले बताएका छन ।


प्रतिक्रिया