नेपाललाई कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप अनुदानमा उपलब्ध

माघ ७, २०७७ | काठमाडौं

भारत सरकारले नेपाललाई कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । खोप नेपाल ल्याउन सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सरकारले भोली खोपको पहिलो लट काठमाडौंं आइपुग्ने जनाएको छ । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । 

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो । छिमेकी मुलुकलाई समेत प्राथमिकतामा राख्दै भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री ह्दयस त्रिपाठीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई खोप दिने गरी तयारी भएको जानकारी दिनुभयो ।

सरकारले ७२ प्रतिशत जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप दिने तयारी गरेको छ । खोप ल्याउने सबै प्रक्रिया पूरा भइसकेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

कोरोना संक्रमणलाई रोक्ने र संक्रमितको उपचार गर्ने सरकारको निरन्तर प्रयत्न रहेको मन्त्री त्रिपाठीको भनाई थियो । मन्त्री त्रिपाठीले खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका नेपालका लागि भारतका राजदुत विनयमोहन क्वात्राले भारतले ठूलो संख्यामा खोप उत्पादन गरीरहेकाले नेपाललाई आवश्यक परे समन्वय गर्न सक्ने उल्लेख गर्नुभयो ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।


प्रतिक्रिया