औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जादै

फाल्गुन १०, २०७७ | कञ्चनपुर

छेला औद्योगिक क्षेत्रको शिलन्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जादै हुनुहुन्छ । बेदकोट नगरपालिका २ र ३ मा स्थापना हुने भनिएको औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ ।

सो क्षेत्रका वासिन्दाले औद्योगिक क्षेत्र स्थापनाका लागि लामो समयदेखि माग गर्दै आएका थिए । बेदकोट नगरपालिकाको जनचेतना र बेदकोट सामुदायिक वनको २ सय ४० हेक्टर क्षेत्रफल जमिनमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । औद्योगिक क्षेत्रका लागि साढे ६ सय हेक्टर जमिन आवश्यक भएपनि तत्काल थोरै जमिनबाट सुरु गर्ने गरि काम भइरहेको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताउनुभयो । उहाँका अनुसार औद्योगिक क्षेत्रका साना, मझौला र ठुला गरि १ सय २४ उद्योगहरु स्थापना हुनेछन् ।

छेला औद्योगिक क्षेत्रका लागि २०५१ देखि अध्ययन सुरु भएको हो । त्यसयता तत्कालिन दैजी गाविस र उद्योग बाणिज्य संघ लगायतले यसको माग गर्दै आएका थिए । पछिल्लो पटक नगरपालिकाले समेत यस विषयमा पहल गर्दै आएको हो । 


प्रतिक्रिया