दाहाल–नेपाल समुहको संसदीय दलको बैठक बस्दै

फाल्गुन १२, २०७७ | काठमाडौं

प्रतिनिधिसभा पुनर्स्थापना पछिको कदम, आगामी सत्ता समिकरण लगायत बिषयमा छलफलका लागि नेकपा दाहाल नेपाल समुहको संसदीय दलको बैठक बस्दैछ । 

आगामी कदमका बारेमा काठमाडौंमा उपलब्ध सासंदहरु बीच छलफल गर्न लागिएको नेता देव गुरुङ्गले जानकारी दिनुभयो । बैठक आज ४ बजेपछि सिहंदरबार स्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठकमार्फत आगामी रणनीति तय गर्ने तयारी गरेको छ । अपरान्हसम्मा केन्द्रीय समिति बैठक तय गरी सर्वोच्चको आदेशपछिको अवस्था तथा नेकपाको आगामी कदमलाई समेत ध्यानमा राखेर रणनीति बनाउने तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न निर्णयपछि कांग्रेसभित्र प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा उठाउने वा निर्वाचनमा जाने भन्नेमा सहमति हुन सकेको थिएन । अदालतले हिजो गरेको फैसलाले निर्वाचनमा जाने बाटो बन्द गरेपछि कंग्रेसले अब केन्द्रीय समितिको बैठकबाट साझा रणनीति तय गर्ने शर्माले बताउनुभयो । जनता समाजवादी पार्टीले पनि आगामी रणनीतिका विषयमा पार्टीको पदाधिकारी बैठक बसेर निर्णय गर्ने जनाएको छ । नेता राजेन्द्र महतोले अदालतको निर्णय पछि मुलुकको लोकतान्त्रिक मुल्य मान्यता स्थापित भएको भन्दै अब मुलुकको राजनितिक माहोलका विषयमा सबै पदाधिकारीबीच छलफल गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि व्यवहारिक रुपमा नेकपा फुटेकाले सत्ता समिकरण पूरानै अवस्थामा फर्कने सम्भावना न्यून छ । अबको सत्ता समिकरण कसरी अघि बढ्छ भन्नेमा विभिन्न अड्कलबाजी शुरु भएको छ । 


प्रतिक्रिया