'नेकपा' नामको विवादमा सुनुवाइ सकियो, २० गते सर्वोच्चले निर्णय सुनाउने

फाल्गुन १३, २०७७ | काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले/ आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाई सकिएको छ । कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज सुनुवाइ सकेको थियो । 

सुनुवाइ सकिएपछि यही फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो ।

 २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो । सो उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।  


प्रतिक्रिया