गुरुङलाई हटाएर भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी

फाल्गुन १४, २०७७ | काठमाडौं

नेकपाको ओली समूहले विशाल भट्टराईलाई पार्टी संसदीय दलको मुख्य सचेतक बनाएको छ । मुख्य सचेतक देव गुरुङ दाहाल–नेपाल समूहमा लागेपछि ओली समूहले आज भट्टराईलाई सो जिम्मेवारी दिएको हो । यसअघि ओली समुहले अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी अधिकार खोसेको थियो भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदिपकुमार ज्ञवालीलाई सो जिम्मेवारी दिएको थियो ।

संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई मनोनयन गरेको सो समूहका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्नुअघि पनि प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा माग्नुभएको थियो । 

सर्वोच्च अदालतको फैसलाले संसद पुनस्र्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ । नेकपाको दाहाल–नेपाल समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई चयन गरेको थियो । सो समुहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो ।  


प्रतिक्रिया