श्री स्वस्थानी ब्रतकथा समापन हुँदै

फाल्गुन १५, २०७७ | काठमाडौं

पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्री स्वस्थानी व्रतको आज विधिवत समापन हुँदैछ । हिन्दु धर्मावलम्वीले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने प्रचलन छ ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यामा कुमार र अगस्त्य ऋषिबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिदै छ ।

श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दु:ख तथा रोग नाश हुने र चिताएको पुग्ने धार्मिक विश्वास छ ।

व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ । व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण ब्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिादै छ । विगत वर्षमा करिब ४ सय जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । 


प्रतिक्रिया