नयाँ सरकार निर्माणका लागि कांग्रेसको प्रस्ताव, माओवादी केन्द्र सकारात्मक, जसपा अझै अन्योलमा

चैत्र २७, २०७७ | काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार निर्माणका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव गर्नुभएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज भएको तीन दलको बैठकमा कांग्रेस सभापति देउवाले सत्तासमिकरण परिवर्तनको प्रस्ताव राख्नुभएको हो ।

 बैठकमा देउवाले केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भए लोकतान्त्रिक हुन नसक्ने भन्दै अबको सरकार चुनावी हुने र त्यसको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले माओवादी र जसपाका नेतासँग छलफल गर्नुभएको हो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी र जसपाबीच पहिलो पटक औपचारिक बैठक बसेको बताउनुभयो । पहिलादेखि नै ओलीको विकल्प प्रतिपक्षी दलहरू मिलेर दिनुपर्ने बताइरहेको माओवादीले तीन दलको बैठकमा पनि देउवाको प्रस्तावलाई स्वीकार गरेको थियो । 

कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिएको शर्माको भनाइ थियो । जसपाका नेताले भने सरकार निर्माणका विषयमा छलफल गरेर मात्र निर्णय दिने बताएका छन् । बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार गठनबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताउनुभयो । जसपाले आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि राज्यले लगाएका मुद्दा खारेजी र बन्दी रिहाइको माग दोहोर्‍याएको थियो । जवाफमा कांग्रेस र माओवादीका नेताहरूले आफूहरू सकारात्मक रहेको बताएका छन् । 


प्रतिक्रिया