तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

चैत्र ३०, २०७७ | काठमाडौं

नेपालमा कोरोना संक्रमण दर फेरि बढेपनि सरोकारवालाले तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आयोजना गरेको छलफलमा सरोकारवालाले विद्यालय बन्द अन्तिम उपाय नभएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेकाले केन्द्रबाट निर्णय लिनु उपयुक्त नहुने नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जुको तर्क थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएका कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका आफैले पालना गर्न नसकेका कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको आरोप लगाउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय प्याब्सनका प्रतिनिधिले अब पनि विद्यालय बन्द गरिए निजी विद्यालयको अवस्था झन नाजुक हुँदै जाने बताएका थिए । विद्यालयमा भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन विराएर वा एकै दिनमा दुई सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्ने लगायतका विधि अपनाउनुपर्नेमा उनीहरुको सुझाव थियो ।

सबै विश्वविद्यालयको परीक्षाको समय नजिकिएकाले शिक्षणसंस्था बन्द गर्नु गलत भएको बताउदै स्वास्थ्य सावधानीका मापदण्ड पालना गरे नगरेको बारे अनुगमन गर्न सरोकारवालाको सुझाव थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले सरोकारवालाको सुझाव समेटेर तयार गरेको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्ने तयारी गर्नु भएको छ । 


प्रतिक्रिया