कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउन निर्देशन

वैशाख २, २०७८ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउन सबै सरकारी अस्पतलालाई निर्देशन दिएको छ । यस्तै मन्त्रालयले कोरोना संक्रमितका लागि उपचार खर्च पनि निर्धारण गरेको छ । 

मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लाको सूचीमा राख्दै उच्च सतर्कता अपनाउन भनेको छ ।

आज एक सूचना जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना संक्रमण बढ्दै गएको र विशेषत बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि आग्रह गर्नुभएको छ । 

मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको छ । बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको भएपनि विद्यालय, रात्रिकालिन व्यवसाय, खेलकुद, सार्वजनिक पूजाआजा तथा जात्राहरुलगायत स्थलमा सहभागी नभइदिन डा.अधिकारीले आग्रह गर्नुभयो ।

सरकारले कोरोना संक्रमितको उपचार खर्च तोकेको छ । निजी प्रयोगशाला तथा अस्पतालले कोभिडको परीक्षणका लागि २ हजार तथा औषधिबाहेक कोरोनाका सामान्य बिरामीलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशत थप भन्दा नबढ्ने गरी उपचार गर्नुपर्ने मन्त्रालयको आग्रह छ । 

डा.अधिकारीले कोभिड–१९ संक्रमण पुष्टि भएको आधारमा सर्वसाधारणलाई अन्य अस्पतालमा रेफर गरेर अनावश्यक दु:ख नदिन आग्रह गर्नुभएको छ । 

सबै अस्पताललाई अनिवार्य रुपमा फिभर क्लिनिक सञ्चालन गर्न निर्देशन दिंदै मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका, जेष्ठ नागरिकहरुको कोभिड–१९ परीक्षण तथा उपचारमा प्राथमिकता दिन आग्रह गरेको छ ।


प्रतिक्रिया