४५ प्रतिशत श्रमिक अझै पनि विना सम्झौतै काममा

वैशाख १८, २०७८ | काठमाडौं

कर्मले जीवन चलाउने श्रमिकहरुले लामो आन्दोलनपछि आफ्नो अधिकार पाएको १ सय ३५ बर्ष पूरा भएको छ । तर श्रमिकहरुको कथा, ब्यथा र सामाजिक धरातलमा अहिले पनि तात्विक भिन्नता देखिएको छैन । 

विकसित र समुन्नतीको दिशामा अघि बढेका मुलुकहरुले श्रमलाई सम्मान गरेर अघि बढेपनि विकासोन्मुख र अविकसित मुलुकहरुमा श्रमिकको अवस्था अहिलेपनि जस्ताको त्यस्तै छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने नाराका साथ अमेरिकाको सिकागोका श्रमिकले थालेको आन्दोलनमा सहादत प्राप्त गरेका श्रमिकको सम्मानमा सन् १८९० को मे १ बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

सोही आन्दोलनका भरमा सिकागोका संगठित मजदुरले आफ्नो मुद्दालाई ब्यवहारिक प्रयोगमा ल्याउन सफल भएका थिए । त्यसको प्रभाव विश्वभरमै परेर श्रमलाई सम्मानसहित उचित ज्याला र सुबिधाको लहर चलेको थियो । नेपालका श्रमिकले पनि मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईरहेका छन् । 

सिद्धान्तत: नेपालमा पनि आन्दोलनको मर्म अनुसार ८ घण्टा कामको ब्यवस्था लागु भएको छ । तर उचित ज्याला र अन्य सुविधाका लागि श्रमिकहरु अहिले पनि संर्घषकै क्रममा छन् । सरकारसँग नै आफ्ना श्रमिकका बारेमा यकिन तथ्याङ्क नभएपनि दैनिक ज्यालादारीमा कामगर्ने श्रमिकको संख्या करिब १६ लाखको हाराहारीमा रहेको छ । बिभिन्न अध्ययनहरुका अनुसार नेपालमा ४४ दशमलव ७ प्रतिशत श्रमिकलाई सम्झौता विना नै काममा लगाईएको छ । अझ न्यूनतम पारिश्रमिक विना नै काम गर्ने श्रमिकको संख्या निकै बढी छ ।

यसैबीच दिवसका अवसरमा शुभकामना दिदै राष्ट्रिपति बिद्यादेवी भण्डारीले देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ । उहाँले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न यो दिवसले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताउनुभएको छ । ओलीको शुभकामना सन्देशमा भनिएको छ, औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौं । यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौं । सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनर्परिभाषित गरेको ओलीले दाबी गर्नुभएको छ । 


प्रतिक्रिया