माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

वैशाख २२, २०७८ | काठमाडौं

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङ सहित नेता सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएका हुन् । 

माओवादी केन्द्रका नेताले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र दिएका हुन् । यसअघि हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनु संविधान विपरीत भएको ठहर माओवादीको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो । 

यही बैशाख २७ गते बस्ने विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताएसँगै माओवादी केन्द्रले आफनो समर्थन नरहने जनाएको हो । आफूहरुले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली स्वत: अल्पमतमा पर्ने नेता पम्फा भुषालले बताउनुभयो । 


प्रतिक्रिया