प्रतिनिधि सभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि

वैशाख २५, २०७८ | काठमाडौं

प्रतिनिधि सभाका २६ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशन अघि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरुले व्यक्तिगत रुपमा गरेको परीक्षणबाट २६ जनामा संक्रमण पुष्टि भएको हो । 

सचिवालयले बुधबार, बिहीबार र शुक्रबार दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो । जसमध्ये १९ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । १९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधि सभाका सदस्य हुन् । 

संघीय संसदसँग सम्बन्धित एक हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ६० जनालाई कोरोना भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । जसमा सांसद सहित संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिव, सुरक्षाकर्मी, ससदीय बिटमा रिपोर्टिङ गर्ने पत्रकार र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी हुन् । 

पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ । सांसदहरु झलनाथ खनाल, बिना मगर, रघुवीर महासेठ, सुरेशकुमार राई, सुरेन्द्र कार्की, मन्त्री जुलिकुमारी महतो लगायत ८ जनालाई पनि कोरोना संक्रमण भएको छ । 

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठकमा कोरोना संक्रमित सांसदलाई कसरी सहभागी गराउने भन्ने बारे सचिवालयमा छलफल सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सांसदहरुको मतदानको अधिकार सुनिश्चित हुनेगरी छलफल भइरहेको बताउनुभयो । प्रतिनिधि सभाको बैठक पर्सि दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया