लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

वैशाख २६, २०७८ | काठमाडौं

संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले झापा गौरादहका रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको उपस्थितिमा रेग्मीको नियुक्ति सिफारिस गरिएको हो ।

सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित रहनुभयो । देउवाले हिजो विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा आफूले भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन आग्रह गर्नुभएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गर्नु भएको छ । सरकारले गत मंगलबार संवैधानिक परिषद् सम्बन्धी सहित सात वटा अध्यादेश जारी गरेको पाँचौं दिन आजका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गर्नु भएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा भोलि विश्वासको मत लिँदै हुनु हुन्छ । तर, अहिलेकै अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । 


प्रतिक्रिया