जसपाका चार जनाको रिट सर्वोच्च अदालतमा दर्ता

जेष्ठ २, २०७८ | वुटवल

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जनता समाजवादी पार्टी जसपाका चार जनाको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा पदमुक्त भएका कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले सर्वोच्चमा रीट हालेका हुन् । उनीहरू चारैजना अहिले प्रदेशका मन्त्री छन् ।

 अदालतले बन्दी प्रत्यक्षीकरण बाहेकका रिट लिने भएपछि आज आफूहरुले रिट दर्ता गरेको पदमुक्त सांसद एवं उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताउनुभयो ।

विपक्षीको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएर एमालेका शंकर पोखरेलको सरकारमा सहभागी भएपछि जसपाका उपेन्द्र यादव पक्षले उनीहरुलाई कारबाही गरेको पत्र प्रदेश सभामा दर्ता गरेको थियो । पत्र दर्ता भएको खबर पाएलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई उनीहरूमाथि पाटीले कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी गराउनुभएको थियो । । तर, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यादव पक्षको कारवाहीलाई आधार मानेर वैशाख १६ गते उनीहरुलाई पदमुक्त भएको निर्णय सुनाउनुभएको थियो ।  


प्रतिक्रिया