जसपा यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्ने

असार ३, २०७८ | काठमाडौं

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन अन्र्तगत पार्टीको आधिकारिकता दाबी गर्ने भएको छ । यादव पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले आफ्नो पक्षमा बहुमत सदस्य रहेकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डम्बर खतिवडाले जानकारी दिनुभयो ।

दफा ४३ मा आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षर सहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नु पर्ने प्रावधान रहेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले स–शरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो । 

निर्वाचन आयोगको गत आइतबार बसेको बैठकले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई गरेको कारबाहिको सिफारिस कानुनसंगत नभएको भन्दै अद्यावधिक नगर्ने निर्णय गरेको थियो । दुई अध्यक्षले आ–आफुलाई आधिकारिक दाबी गर्दै आयोगमा पत्र पठाएका थिए । 

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागि सबै मन्त्रीहरुलाई पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशमा सहभागी भएका चार मन्त्रीलाई पनि कारबाही गर्ने निर्णय भएको प्रबक्ता खतिवडाले बताउनुभयो ।


प्रतिक्रिया