मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

असार ४, २०७८ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । गठबन्धनबाट गत जेठ २९ गते संविधानको धारा १६८ को ५ बमोजिम पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । 

जेठ २७ गते एमाले प्रदेश संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री हुनुभएको थियो । आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची तय भएको छ । विश्वासको मत लिएर मन्त्रीपरिषद् बिस्तार र बजेट छलफललगायत काम अघि बढाउने भन्दै उहाँले मुख्यमन्त्रीमा नियुक्त भएको एक साताभित्रै विश्वासको मत लिन लाग्नुभएको हो ।

 २९ गते नै नियुक्त भएका चार मन्त्रीलाई पनि पोखरेलले अझै जिम्मेवारी दिनुभएको छैन । ६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले ५९ सांसद छन । मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा अब ३० मत भए पु्ग्छ । यसअघि ३१ सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री हुनुभएको थियो । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांंसद छन । 


प्रतिक्रिया