तामाकोसी नदीको प्रवाह रोकियो, सतर्कता अपनाउन आग्रह

फाइल फोटो 

असार ५, २०७८ | दोलखा

पहिरोका कारण चीनको तिब्बततर्फ तामाकोसी नदीको प्रवाह रोकिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले गएराति सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोका कारण नदी थुनिएको सूचना प्राप्त भएको बताएको हो । 

रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै खसेको पहिरोले नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दोलखाको सिमाना जोडिएको चीनको तिङग्री नजिकै पहिरो खसेर गएरातिबाट तामाकोशी नदी थुनिएकाले बाढी आउने सक्ने भन्दै सर्तकता अपनाउन र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गर्नु भएको छ । 

‘लप्ची नजिकै सिमामा पहिरो खसेको चिनियाँ पक्षले भनेको छ,’ उहाँले भन्नुभयो, ‘बाढी आउन सक्ने भनेर हामीलाई भनेको छ । नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन भनेका छौं ।’ प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार नदी थुनिएको क्षेत्रमा ताल बनेको जानकारी चिनियाँ अधिकारीहरुले गराएका छन् । 

उहाँका अनुसार लप्चीस्थित ६० र ६१ नम्बर सीमा पिलर नजिकै पहिरो खस्दा नदी थुनिएर ताल बनेको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढीको जोखिम भएको नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीले तामाकोशी नदीमा पानीको बहाव निरीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया