पहिरोले थुनिएको रोङसी खुलाउन पुग्यो चिनियाँ टोली

फाइल फोटो 

असार ५, २०७८ | दोलखा

पहिरोले थुनिएको तामाकोसी नदीको सहायक खोला रोङसी खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङग्री काउन्टी नजिकै पहिरोले तामाकोसी नदीको सहायक रोङसी खोला थुनिएपछि ताल बनेको छ । 

ताल बनेर बसेको रोङसीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान सो क्षेत्रमा पुगेको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । पहिरोले थुनिएको रोङसी खोला भरिएर (ओभर फलो) बग्न थालेको चिनियाँ पक्षले जानकारी गराएको उहाँले बताउनुभयो । 

‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उहाँले भन्नुभयो, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास गरिरहेको छ ।’ खोला थुनिएर धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भईरहेको प्रजिअ घिमिरेले बताउनुभयो । 

नेपालतर्फबाट सो क्षेत्रमा जान असम्भव भएकाले चिनियाँ टोली खोला थुनिएको क्षेत्र पुगेको हो । ‘ताल बनेर बसेको खोला फुटाउने काम सुरु भएको छ,’ घिमिरेले भन्नुभयो, ‘ताल फुटाउने सम्भावना कतिको हुन्छ, अझै यसै भन्न सकिँदैन ।’ 

ताल फुटाउन चिनियाँ टोली पुगेपनि कति जनशक्ति परिचालन गरिएको भन्ने बारे उनीहरुले खुलाएको छैन । खोला थुनिएका कारण ठूलो बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय घटाईएको छ । 

तामाकोसी जलाशयमा हाल पानीको सतह १ हजार ९ सय ७८ मिटर रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । आयोजनाको बाँधले प्रति सेकेण्ड ६ सय घनमिटर बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय घनमिटर जलाशयले डेढ घण्टासम्म रोक्न सक्ने उहाँको भनाई छ । 

तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ । चीनको तिङग्री काउन्टी सीमा जोडिएको लप्ची नजिकै पहिरो खसेर शुक्रबार रातिबाट मुख्य सहायक खोला थुनिएको हो । लप्चीस्थित ६० र ६१ नम्बर सीमा पिलर नजिकै पहिरो खस्दा नदी थुनिएर ताल बनेको छ । 


प्रतिक्रिया