सभापतिमा उम्मेदवारीबाट पछि हट्दिन : देउवा

असार ६, २०७८ | काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने दोहोर्‍याउनुभएको छ । बागमति र गण्डकी प्रदेशका आफूपक्षीय पदाधिकारी तथा नेताहरुसँगको छलफलमा सभापति देउवाले पार्टी हितकालागि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गर्नुभयो ।

विकसित पछिल्लो राजनीतिक अवस्थामा कांग्रेसलाई मजबुत बनाई अघि बढ्नुको विकल्प नभएकाले १४ औं महाधिवेशनमा सभापतिकालागि आफ्नो उम्मेदवारी रहने उहाँको भनाई थियो । उपसभापति विमलेन्द्र निधीले हिजो सभापति देउवालाई औपचारिकरुपमा १४ औं महाधिवेनमा सभापतिकालागि आफूलाई सहयोग गर्न आग्रह गरेपछि देउवा दबाबमा पर्नुभएको छ । 

विश्वास पात्र मानिएकै नेताबाट आफ्नो विपक्षमा उभिने संकेत पाएका सभापति देउवाले हिजै प्रदेश १ र २ का संस्थापनपक्षीय केन्द्रीय पदाधिकारी तथा सदस्यसँग छलफल गर्नुभएको थियो । बुढानिलकण्ठ स्थित सभापति देउवा निवासमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा देउवाले अहिले नै नेतृत्व हस्तान्तरणको समय नआएको बताउनुभएको सहमहामन्त्री प्रकाश शरण महतले बताउनुभयो । 

सभापति देउवाले भोली लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका आफ्ना पक्षका नेताहरुसंग छलफल गर्ने उहाँका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । कांग्रेसले भदौंको १६ देखि १९ गते महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यता कांग्रेस संस्थापन इतरपक्षले पनि आन्तरिक छलफललाई अघि बढाएको छ । आकांक्षी धेरै भएकाले इतरपक्षमा नेताहरुबीच मिलेर जाने विषयमा छलफल सुरु भएको नेताहरुको भनाई छ । 


प्रतिक्रिया