आधिकारिता दाबीसम्बन्धी जवाफ पठाउन ठाकुर पक्षलाई निर्वाचन आयोगको पत्राचार

असार ६, २०७८ | काठमाडौं

फुटको संघारमा रहेको जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टी आधिकारिकताको बिषयमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ । 

अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर सहित पार्टी आधिकारीता दावी गरेपछि ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले तोकिएको समयमा लिखित जवाफ नआए ठाकुर पक्षका विषयमा आयोग कानुनत अघि बढ्ने बताउनुभयो । 

यादव पक्षले गत शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर सहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । आयोगले अध्यक्षद्वयले एक अर्कालाई पार्टीबाट निलम्बन गर्दै निर्णय अध्यावधिक गर्न पठाएको पत्र अस्वीकार गरेपछि यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ अनुसार पुन: दावी पेश गरेको थियो ।


प्रतिक्रिया