निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुने, निषेधाज्ञा खुकुलो

असार ६, २०७८ | काठमाडौं

केही खुकुलो पार्दै काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधी थप एक साताका लागि लम्बाइएको छ । उपत्यकामा पर्सी मंगलबारबाट निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुने भएको छ । 

यस्तै फेन्सी पसल, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्चालन गर्न दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाएको हो । 

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्चालन गर्न दिइने छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी सञ्चालन गर्न पाउनेछन् । 

शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने भएको छ । प्रजिअ पराजुलीले कोरोना महामारीको जोखिम र आम जनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाइएको बताउनुभयो । 


प्रतिक्रिया