थप २ हजार ४४२ जनामा कोरोना संक्रमण, पहाडी क्षेत्रमा सक्रिय संक्रमित बढे

असार ६, २०७८ | काठमाडौं

मुलुकमा २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर गर्दा १ हजार ४ सय २१ जना र ४ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा मात्र ५ सय ४८ जना संक्रमित पाईएका छन् । जसमध्ये काठमाडौंका ४ सय ५०, ललितपुरका ५३ र भक्तपुरका २५ जना छन् । यो अवधिमा थप ५१ जनाको मृत्यु भएको छ । यस्तै, २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ३४ लाख ११ हजार ८ सय २८ जनाको कोरोना परीक्षण गर्दा कुल ६ लाख ४७ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि देखिएको छ । जसमध्ये ८ हजार ७ सय जनाको मृत्यु भएको छ । संक्रमण पछि ५ लाख ५६ हजार निको भइसकेका छन् ।

जनघनत्व बढी भएका र कोरोना संक्रमणको बढी जोखिम रहेका जिल्लाहरु काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रे क्रमश: संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २ सातामा उदयपुर, पाँचथर, तेह्थुम, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट र रसुवामा भने कोरोनाका संक्रिय संक्रमितको संख्या बढेको पाईएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, बागलुङ, मुस्ताङ, रोल्पा, जुम्ला, डोल्पा, मुगु र रुकुम पश्चिम र बाजुरामा पनि सक्रिय संक्रमितको संख्या बढेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले महामारीको समयमा अन्य मौसमजन्य विपत पनि आउनसक्ने भन्दै त्यसबाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता डा. कृष्णप्रसाद पौडेलले बाढीपहिरोको मौसम भएकाले पानीजन्य अन्य रोग पनि सर्ने सम्भावना उत्तिकै भएको बताउनुभयो । साथै लामखुट्टेको टोकाइबाट लाग्ने औंलो, डेंगु लगायत संक्रमण र सर्पदंशबाट पनि बच्न उहाँले आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया