नेकपा एमालेमा सहमतिको पहल फेरि रोकियो

फाइल फोटो 

असार ८, २०७८ | काठमाडौं

सत्तारुढ नेकपा एमालेमा सहमतिको पहल फेरि रोकिएको छ । जेठ २ अघिको अवस्थामा फर्किने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा थप स्पष्टता र सर्वोच्च अदालतमा परेको रिट फिर्ता गर्नुपर्ने सर्तका कारण वार्ता प्रक्रिया प्रभावित भएको हो । 

कार्यदल निष्कृय छ भने दई पक्षीय उच्च संयन्त्रमा अनौपचारिक छलफल समेत हुन सकेको छैन । खनाल–नेपाल समूहका तर्फबाट कार्यदल सदस्य सुरेन्द्र पाण्डे, लगायत नेताले कही दिनअघि प्रधानमन्त्रीसँग सहमतिका लागि अनौपचारिक छलफल गरेका थिए । 

सो छलफलमा पार्टी मिल्नुपर्छ भन्ने बाहेक सहमतिको ठोस एजेण्डामा छलफल हुन नसकेको एमाले उच्च स्रोतले जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परिणाममुखी छलफल हुन नसकेको स्वीकार गर्नुभयो । 

नेम्वाङले भन्नुभयो, ‘अनौपचारिक छलफल नभएको होईन तर, परिणाम अहिलेसम्म निस्किएको पनि छैन ।’ उपनेता नेम्वाङले सहमतिका लागि कार्यदलस्तरमा छलफल भने जारी राखिने बताउनुभयो ।

खनाल–नेपाल समूहका वार्ता टोली सदस्य घनश्याम भुसालले जेठ २ अघिको अवस्थामा फर्किने र सर्वोच्चको रिट सम्बन्धमा आ–आफ्नै अडान रहेपछि वार्ता प्रक्रिया रोकिएको बताउनुभयो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमतका आधारमा प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आफ्नो समूहको हस्ताक्षर फिर्ता नहुने नेता भुसालले बताउनुभयो । 


प्रतिक्रिया