मनाङको चामेस्थित मस्र्याङ्दी नदीमा फेरि आयो ठूलो बाढी

मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमा बेलिब्रिज र लोकप्रिय माविलाई जोखिममा पार्ने गरी बगेको बाढी ।  तस्बिर सौजन्य: नारायण कुसुम

असार ९, २०७८ | लमजुङ

मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमा बाढी आएको छ । पानीको सतह बढेर माथिल्लो मनाङ जाने बेलिब्रिज नाघेको छ । यसले नजिकैको लोकप्रिय माविलाई समेत जोखिममा पारेको छ । 

बाढीले बगाएर ल्याएको ठूलाठूला रुख बेलिब्रिज साथै ठाउँठाउँमा अड्किएको छ । मस्र्याङ्दीको बाढीले धार परिवर्तन गरी दायाँतर्फ च्याप्दा विद्यालय र घरहरु जोखिममा परेको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमका अनुसार बेलिब्रिजलाई मात्रै नभएर झोलुंगे पुललाई समेत जोखिममा पारेर बाढी आएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले केही गर्दा पनि नदी नघटेको र यसले थप जोखिममा पारेको बताउनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ३ दिनयता लगातार बेलिब्रिजलाई जोखिममा पार्ने गरी बाढी आइरहेको छ । मंगलबार रातीको भीषण बर्षाले बाढीले झन् ठूलो रुप लिएको उहाँले बताउनुभयो । केही दिनयता सुरक्षाकर्मीले पुल जोगाउन विभिन्न कामहरु गरिरहे पनि बाढी बढ्दै गएकाले समस्या परेको बताउनुभयो ।

नेपाल प्रहरीका डीएसपी सुवास खड्काले मस्र्याङ्दी नदीले दायाा च्याप्दा लोकप्रिय माविसंगै बजार क्षेत्र जोखिममा पारेको बताउनुभयो । उहाँका अनुसार पुल, स्कुल र बस्ती जोगाउन प्रहरी खटिरहेको बताउनुभयो । बुधबार बिहानीपखदेखि एक्कासी बढेको बाढीका कारण थप जोखिममा परेको उहाँले बताउनुभयो । 

सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार बेलिब्रिजबाट ओभरफ्लो भएर पानी बगेको छ । पारी चामेका ५/६ घर फेरि डुबानमा परेको छ । उनले बस्ती र पुल जोगाउन प्रहरी दिनदिनै खटिएको बताउनुभयो ।

जेठ ३१ गते रातीदेखि आएको बाढीले नदीको पिँधमा बालुवाजन्य पदार्थ थुपारिादिादा पुल र बस्ती जोखिममा परेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँका अनुसार नदीमा बम पड्काउने कार्य जोखिम हुने र यसले ५ सय मिटर वरपरका घरहरु भत्काउन सक्ने भएपछि बम पड्काउन सकिएको छैन । 

सुरक्षाकर्मी लगाएर बगाएर ल्याएको रुखलाई हटाउने प्रयास गरिए पनि पुन: थपिदै आएको उहाँले बताउनुभयो । जेठ ३१ गते रातिदेखिको निरन्तर बर्षाका कारण मनाङमा ५६ घरलाई पूर्ण क्षति पुर्‍याएको छ । २ सय बढी घर जोखिममा रहेको मनाङ प्रशासनले जनाएको छ ।


प्रतिक्रिया