कर नतिर्ने २३ करदातालाई काठमाडौँ महानगरको तीन दिने अल्टिमेटम

श्रावण १३, २०७८ | काठमाडौं

काठमाण्डौ महानगरपालिकाले २३ ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर, जग्गा, सम्पत्ति लगायतमा लाग्ने कर नबुझाए व्यवसाय र कार्यलय नै बन्द गरिदिने चेतावनी दिएको छ ।सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ ठूला करदाताको कार्यालय स्थलमै पुगेर तीन दिनभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । 

उनीहरूबाट झन्डै ७० करोड रुपैयाँ कर असुली गर्न बाँकी रहेको महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो । तोकिएको समयभित्र कर नतिरे ती करदाताको व्यवसायमा तालाबन्दीदेखि सम्पत्ति रोक्का गर्नेसम्मका कडा कारबाही गर्ने अधिकारीले बताउनुभयो ।


सम्पत्ति कर नबुझाउनेमा देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाईटेड वर्ल्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, वाग्मती च्याम्बर, काठमाण्डौ इन्जिनियरिङ कलेज, नेपाल क्षय रोग केन्द्र, नेपाल रेडक्रस सोसाइटी, आदर कम्प्लेक्स, नेशनल अस्पताल, शहीद मेमोरियल अस्पताल, कृषि सामग्री संस्थान रहेका छन् ।

यस्तै मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाण्डौ प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ ठूला करदाताले अटेर गरेपछि तीन दिनभित्र कर असुल गर्न माइकिङसमेत गरेर ताकेता गर्नुपरेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदातालाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताउनुभयो ।


प्रतिक्रिया