एमालेका शीर्ष नेताको अशिष्ट र अराजनीतिक अभिव्यक्ति रोकिएन, अध्यक्ष ओली भन्छन्–“माधव नेपाल देशद्रोही हुन्”

श्रावण १६, २०७८ | काठमाडौं


पार्टीभित्रको विवाद मिलाउन दोस्रो तहका नेताले दौडधुप बढाइरहँदा एमालेका शीर्ष नेता भने सार्वजनिक रुपमै एक–अर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन् । काठमाडौंमा आज भएका छुट्टाछुट्टै कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अभिव्यक्ति सुन्दा एमालेमा एकताको सम्भावना न्युन हुँदै गएको आभास भएको छ । काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई देशद्रोहीको आरोप लगाउँदै अब पार्टीमा कुनै ठाउँ नभएको बताउनुभयो ।

नेता नेपाललाई दोस्रो अध्यक्षको जिम्मेवारी दिने गरी सहमतिको पहल भइरहेको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले नेता नेपालविरुद्ध कडा अभिव्यक्ति दिनुभएको हो । आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात गरिएको समेत ओलीको गुनासो थियो । आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताउनुभयो ।

फरक कार्यक्रममा वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग रहेकाले कार्यकर्तालाई त्यस्तै बन्न सुझाव दिंदै आफूहरू मैदान छोडेर नभाग्ने बताउनुभयो । निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै नेतृत्वलाई होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालको भनाई थियो ।

अखिल फोर्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले आफू विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको पनि बताउनुभयो । एमालेभित्रको विवाद उत्पन्न भएका बेला शीर्ष नेताहरुले एक–अर्काविरुद्ध अशिष्ट र गैरराजनीतिक अभिव्यक्तिलाई निरन्तरता दिएका हुन् ।  


प्रतिक्रिया