एमसीसीको कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल

आश्विन २, २०७८ | जनकपुर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कारण गठबन्धन नटुट्ने बताउनुभएको छ । 

पार्टीको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर पुगेका अध्यक्ष दाहालले एमसीसीको विषयलाई लिएर आफूहरु विभाजित नहुने बताउनुभएको हो । 

‘एमसीसी भन्दा गठबन्धन महत्वपूर्ण हो,’ दाहालले भन्नुभयो, ‘सरकारले पूर्णता नपाएको विषयलाई बहाना बनाएर गठबन्धनमा गडबड रहेको भ्रम फैलाइयो । गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको छ ।’

अध्यक्ष दाहालले परिमार्जन नभई एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने पक्षमा आफूहरु रहेको बताउनुभयो । एमसीसी सम्झौतामा प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने प्रावधान नरहेपनि केपी ओली नेतृत्वको सरकारको पालामा संसदबाट अनुमोदन गर्ने सहमति भएपछि एमसीसीको विवाद चर्किएको दाहालको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘अमेरिकी संसदमा एमसीसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्कियो ।’ अध्यक्ष दाहालले गठबन्धनमा कुनै असन्तुष्टि नरहेको भन्दै सरकारले पूर्णता नपाएको विषयलाई बहाना बनाएर प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनमा कुनै किसिमको विवाद छैन । यो गठबन्धन टुट्दैन ।’ प्राविधिक कारणले मन्त्रीपरिषद बिस्तारमा ढिलाई भएको भन्दै दाहालले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । 


प्रतिक्रिया