राजनीतिक तवरबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७८ | काठमाडौं

सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ । 

सिंहदरवारमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा लगायत अन्य देशमा नियुक्त भएका राजदूत फिर्ता हुनेछन् । कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले जानकारी दिनुभयो ।

 यस्तै, सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाा आदेश जारी गरेको हो । सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ । 

समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहने छन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । बैठकले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको छ ।


प्रतिक्रिया