परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, शपथ आजै गर्ने तयारी

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७८ | काठमाडौं


प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कंग्रेसका नेता नारायण खड्कालाई नियुक्त गर्नुभएको छ । खड्काले आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सुचना अधिकारी अर्चना खड्काले बताउनुभयो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न विभागीय मन्त्रीको खाँचो भएपछि मन्त्रीपरिषद् विस्तार नगरेपनि प्रधानमन्त्री देउवाले खड्कालाई नियुक्त गर्नुभएको हो । सत्तागठबन्धनभित्र सहमति जुट्न नसक्दा सरकार विस्तार हुन सकेको छैन ।

यसैबीच, मन्त्री नियुक्त हुनेवित्तिकै परराष्ट्र मन्त्रालयको टोली अमेरिकाको न्युयोर्क जानका लागी तयार रहेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मन्त्रालयले तयारी गरिरहेकाले मन्त्री नियुक्त हुने वित्तिकै टोली त्यसतर्फ प्रस्थान गर्ने लम्सालले जानकारी दिनुभएको छ ।

उता, सार्कको मन्त्रिस्तरीय बैठक बस्ने सन्दर्भमा कुनै निर्णय नभएको सार्कको काठमाडौंस्थित सचिवालयका प्रवक्ता मणि शर्माले बताउनुभएको छ । नेपाल अध्यक्ष राष्ट्र रहेको सार्कको विदेशमन्त्रीस्तरीय साइडलाइन वार्ताका निम्ति पर्याप्त तयारी हुन नसकेका कारण बैठक बस्ने सम्भावना न्युन छ ।

उता, सपथ ग्रहण सम्बन्धी अध्यादेश निष्क्रिय रहेको अवस्थामा परराष्ट्रमन्त्री खड्काको सपथग्रहणमा कानुनी जटिलता हुन सक्ने संविधानविद्ले बताएका छन् । संविधानविद डा.चन्द्रकान्त ज्ञवालीले अहिले कानुन निष्क्रिय रहेको अवस्थामा सपथ गराउनु आश्चर्यको विषय रहेको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले भने पुरानै कानुनलाई आधार मानेर सपथ ग्रहण गराउने तयारी भइरहेको बताउनुभएको छ । 


प्रतिक्रिया