नेपालको आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण

आश्विन ६, २०७८ | काठमाडौं

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । एडीबीले नेपालको आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपण संशोधन गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य नेपालले भेटाउन नसकेको र चालू आर्थिक वर्ष २०७८/७९ का लागि यसअघि गरिएको प्रक्षेपण पनि पूरा गर्न नसकिने देखिएकाले लक्ष्य संशोधन गरिएको एडीबीले जनाएको छ ।

 ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले यसअघि सार्वजनिक गरेको नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । संशोधित विवरण अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीडीपी वृद्धिदर ३ दशमलव १ प्रतिशत अनुमान गरेकोमा २ दशमलव ३ प्रतिशत मात्रै कायम भएको देखिएको छ । सरकारले भने गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको थियो । 

त्यस्तै, चालू आर्थिक वर्ष २०७८/७९ का लागि एडीबीले यसअघि ५ दशमलव १ प्रतिशत वृद्धिदर प्रक्षेपण गरिएकोमा त्यसलाई संशोधन गर्दै ४ दशमलव १ प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा नियन्त्रित अवस्थामा रहेको मूल्यवृद्धि चालु आर्थिक वर्षमा भने बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि ३ दशमलव ६ प्रतिशत बराबर रहेको र चालू आर्थिक वर्षमा यस्तो दर बढेर ५ दशमलव २ प्रतिशत पुग्ने अनुमान एडीबीले गरेको छ । कोभिड–१९ महामारी संक्रमणदर उच्च नै रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले जनाएको छ । 


प्रतिक्रिया