एमालेको अवरोधकैबीच दुई विधेयक पारित

रेडियो कान्तिपुर संवाददाता

आश्विन ७, २०७८ | काठमाडौं

प्रतिपक्षी एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्वन्धित दुई वटा महत्वपूर्ण विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउनेसम्वन्धि विधेयक २०७८ पारित गरेको हो ।

प्रतिनिधिसभाको बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले आज पनि बेल घेराउ गर्दै नारावाजी गरेका थिए । एमालेको अवरोध रहेपनि संसदीय प्रक्रियालाई अघि बढाइएको थियो । सभामुख अग्नी सापकोटाले राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

विधेयकमार्फत् सरकारले २ खर्ब ३९ अर्व रुपैयाको सीमाभित्र रहेर राष्ट्र ऋण उठाउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन सरकारले ल्याएको अध्यादेशमा भन्दा ११ अर्ब रुपैया घटाइएको बताउनुभयो ।

यसैवीच, सत्तारुढ नेपाली कंग्रेसले सदनमा अवरोध गर्ने प्रतिपक्षीको कदमले संसदीय मर्यादामाथि प्रहार गरेको बताएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कंग्रेसका सांसद गगन थापाले प्रतिपक्षी गैरजिम्मेवार रुपमा प्रस्तुत भएको टिप्पणी गर्नुभयो । आफ्नो पार्टी विभाजनमा सभामुखले सहयोगी भूमिका खेलेको भन्दै विपक्षी एमालेले चालू अधिवेशनको पहिलो बैठकबाटै संसदमा विरोध जनाउँदै आएको हो । कंग्रेस सांसद थापाले एमालेको कदम संसदका लागि अप्रिय भएको बताउनुभयो ।

यसैवीच, संसदको बैठक आगामी सोमवारसम्मका लागि स्थगित भएको छ । यता, राष्ट्रिय सभाको आजको बैठकले एमालेको विरोधका बीच विनियोजन विधेयक पारित गरेको छ । बैठकमा बोल्दै एमाले सांसद कोमल वलीले सभामुखले पदको महत्व जोगाउन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो । प्रतिनिधिसभाबाट आज पारित भएका दुई विधेयक राष्ट्रिय सभामा पेश भएपश्चात् अनुमोदन गरेपछि प्रमाणिकरणको प्रक्रिया शुरु हुनेछ । राष्ट्रिय सभाको बैठक भोलि पनि बस्नेछ । 


प्रतिक्रिया