नेकपा एकीकृत समाजवादीे पार्टीको पदाधिकारी टुंगो लाग्यो

आश्विन ७, २०७८ | काठमाडौं

नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीहरुको टुंगो लगाएको छ । काठमाण्डौंको बुद्धनगरमा आज बसेको केन्द्रीय समितिको पहिलो बैठकको तेस्रोदिन पदाधिकारीको टुंगो लागेको सचिव जगन्नाथ खतिवडाले बताउनुभयो । बैठकले पार्टी अध्यक्षमा माधव कुमार नेपाल रहनेगरि वरिष्ठ नेतामा झलनाथ खनाल र तेस्रो वरियतामा रहने गरी मुकुन्द न्यौपाने चयन गरेको छ । सात जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राईलाई चयन गरेको छ । 

त्यसैगरी महासचिवमा बेदुराम भुसाल र तीन उप–महासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल र सचिवहरुमा नागेन्द्र प्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र कुमार राई, रामकुमारी झाँक्री चयन भएको प्रचार विभाग प्रमुख समेत रहेका सचिव खतिवडाले जानकारी दिनुभयो । तीन सचिव मनोनित गरिने सहमति भएको छ । त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो गठन भएको छ । केन्द्रीय कमिटी सदस्य(पुर्ण र वैकल्पिक गरी) ३०१ सदस्यीय गठन गर्ने सहमति भएको सचिव खतिवडाले बताउनुभयो । त्यसैगरी ७ सय १ सदस्यीय केन्द्रीय प्रतिनिधि परिषद्समेत गठन भएको छ । 

त्यस्तै बैठकले प्रदेश र जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरेको छ । केन्द्रीय कमिटी बाहेकका सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गर्ने निर्णय भएको छ । बैठकले ‘तात्कालिक कार्ययोजना २०७८’ पारित गरेको छ । त्यस्तै केन्द्रीय परिषद् गठन गर्ने निर्णय भएको सचिव खतिवडाले बताउनुभयो । बैठकले पार्टी अनुशासन, निर्वाचन र लेखासहित ३५ सदस्यीय रहनेगरि तीन आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न विभागमा २५, केन्द्रीय सल्लाहकारमा १ सय ५१ र ज्येष्ठ कम्यूनिष्ट मञ्चमा १ सय ५१ सदस्यीय रहने प्रस्ताव गरिएको सचिव खतिवडाले बताउनुभयो । 


प्रतिक्रिया