बार र बेञ्चबीच विवाद: संवैधानिक इजलाससम्वन्धी मुद्धाको सुनुवाइ स्थगित

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७८ | काठमाडौं


प्रधानन्यायाधिशको उपस्थिति विना संवैधानिक इजलास गठन गर्न नमिल्ने जिकिरसहित परेको रिटको सुनुवाइको बिषयलाई लिएर बार र बेञ्चवीच विवाद देखिएको छ । सो रिटको सुनुवाइका लागि न्यायाधिशद्धय प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलास तोकिएपनि सर्वोच्च अदालतको आदेश अनुसार गठन गरिएको एमिकस क्युरीका सदस्य सहभागी नभएपछि सुनुवाई नै स्थगित भएको छ । एमिकस क्युरीका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको बैठकमा भएको सहमति विपरित इजलास तोकिएको भन्दै आफूहरु सहभागी नभएको बताएका छन् ।

सर्वोच्च बारका अध्यक्ष एवम् एमिकस क्युरीका एक जना सदस्य पूर्णमान शाक्यले यसअघिको सहमति अनुसार इजलास नतोकिएकाले अलमलको स्थिति उत्पन्न भएको बताउनुभयो । रेडियो कान्तिपुरसँग कुरा गर्दै शाक्यले भन्नुभयो–“ न्यायाधिश हरि फुयालको इजलासले दिएको आदेशपछि उत्पन्न संवैधानिक विवादको निरुपण संवैधानिक इजलासबाटै गर्ने सहमति केही दिनअघि भएको थियो । तर रिटको सुनुवाइ गर्न डिभिजन वेञ्चमा तोकिएपछि हामी अलमलमा परेका छौं ।” उहाँले अब वार एसोसिएसनका सल्लाहकारसहित छलफल गरेर अघि बढ्ने बताउनुभएको छ ।

यता सर्वोच्च अदालत स्रोतले भने एमिकस क्युरीको नाम आधिकारिक रुपमा प्राप्त नै नभएकाले सुनुवाइ स्थगित भएको बताएको छ । प्रधानन्यायाधिश वेगरको इजलास बस्न नमिल्ने भन्दै परेको रिटको सुनुवाइ गर्दै न्यायाधिश फुयालको इजलासले विवाद टुङगो नलागेसम्म संवैधानिक इजलास नराख्न आदेश दिदै सो मुद्धामा राय दिनका लागि एमिकस क्युरी गठन गर्ने आदेश भदौं १७ गते दिएको थियो । अदालतको सोही आदेशपछि स्थगित भएको सुनुवाई आजका लागि तोकिएको थियो । तर सर्वोच्च वार र नेपाल वारबाट चार जनाको नाम टुङगो लागेपनि उनीहरु सहभागी नभएपछि सुनुवाइ प्रभावित भएको हो ।

केपी ओली नेतृत्वको तत्कालिन सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई गर्न तोकिएको संवैधानिक इजलासमा नबस्ने निर्णय प्रधानन्यायाधिश जवराले गरेपछि वरिष्ठतम् न्यायाधिशको अध्यक्षतामा सुनुवाई गर्ने तयारी भएको थियो । तर न्यायाधिश फुयालको आदेशपछि सुनुवाई अनिश्चित मात्र भएको छैन एकल इजलासले संवैधानिक इजलासको निर्णय विपरित आदेश गर्न नमिल्ने भन्दै प्रश्न उब्जिएको छ ।  


प्रतिक्रिया