एमालेको केन्द्रिय कमिटी: पार्टी एकतादेखि प्रतिनिधिसभा विघटनबारे प्रष्टता खोजिदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७८ | काठमाडौं

विधान महाधिवेशन, अध्यक्षको राजनीतिक प्रतिवेदन तथा संगठनात्मक संरचनाबारे छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारीे बैठकमा विधान मस्यौदा, राजनीतिक प्रतिवेदन र संगठनात्मक संरचनाबारे समूहगत छलफल हुन लागेको हो ।

बैठकमा पार्टी एकतादेखि विभाजनसम्मको अवस्था, प्रतिनिधिसभा विघटन, सरकारमा रहँदा गुमेको २ तिहाइ वहुमतजस्ता राष्ट्रिय राजनीतिका महत्वपुर्ण विषयमा अधिकांश केन्द्रीय सदस्यले प्रश्न उठाएका छन् । २ पटकसम्म प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे केन्द्रीय सदस्यहरुले लिखित भनाइ राखेको नेता रघुजी पन्तले जानकारी दिनुभयो । यस्तै बैठकमा १० वुँदे सहमतिको अक्षरस पालना गर्नुपर्ने असन्तुष्ट पक्षले माग गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली सुदुरपश्चिम प्रदेशमा भीम रावलको ठाउँमा लेखराज भट्ट र बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यको स्थानमा रामवहादुर थापालाई इन्चार्ज तोकेपछि विवाद बल्झिएको छ । तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा रहेर पनि पार्टी विभाजनमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले १० वुँदे सहमतिको पुर्ण कार्यन्वयन गर्न माग गरेका छन् । 


प्रतिक्रिया