नेपाल-चीन सीमा निरीक्षण गर्न गठित टोलीले सरकारलाई बुझायो प्रतिवेदन

आश्विन १०, २०७८ | काठमाडौं

चीनसँगको सीमावर्ती हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । 

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाँणलाई बुझाउनु भएको हो । 

स्रोतका अनुसार प्रतिवेदनले सो सीमा क्षेत्रमा समस्या देखिएको निष्कर्ष निकालेको छ । प्रतिवेदन बारे थप केही बताइएको छैन । 

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

गृहमन्त्री खाँणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवाद समेत दिनुभयो । अध्ययनले त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवन बारे बुझ्न महत्वपूर्ण हुने उहाँले बताउनुभयो । 

प्रतिवेदन बारे संक्षिप्त जानकारी दिंदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझाव बारे मन्त्री खाँणलाई जानकारी गराउनु भएको थियो । 

टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । मन्त्रिपरिषद् बैठकले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो । 


प्रतिक्रिया