एमालेको केन्द्रीय कमिटीबाट फरक मतसहित विभिन्न प्रतिवेदन पारित

आश्विन १०, २०७८ | काठमाडौं

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन, विधान संसोधन र सांगठनिक प्रतिवेदन नेताहरुको फरक मतसहित पारित भएको छ । ललितपुरमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुषाल लगायतको फरक मतसहित प्रतिवेदन पारित गरेको हो ।

बैठकले विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने निर्णय गरेको छ । यसअघि ३ हजार प्रतिनिधि रहने भनिएकामा अब त्यो संख्या घट्ने भएको हो । प्रदेश कमिटीका सबै सदस्यलाई प्रतिनिधि भनिएकोमा अब एक प्रदेशबाट ५० जनामात्र सहभागी हुन पाउनेगरी प्रस्ताव गरिएको छ । बैठकले गठबन्धन सरकारले जबरजस्ती संसदमा बजेट प्रतिस्थापन विद्येयक पास गरेको भन्दै त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

बैठकमा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्ताव सहित तीन वटै प्रतिवेशनमा फरक मत राख्नुभएको थियो । उहाँले फागुन २८ को कदम पार्टी कब्जा गर्ने भएको भन्दै त्यसको परिणाम अहिले भोगिरहेका दावी गर्नुभयो । बैठकमा संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने, समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या गर्नुपर्ने माग गर्नुभयो ।

यसैबीच, केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सात उपाध्यक्ष बनाउँदा संगठनमा कस्तो असर पर्छ भन्ने विषयमा छलफल गरेर निर्णय लिने बताउनुभयो । उहाँले नेताहरुका भावना अनुरुप पार्टी अघि बढ्नेमा विश्वास राख्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सरकारमा रहदा असाधारण काम गरेकाले चुनावमा ढुक्क भएर अघि बढ्न निर्देशन दिनुभएको थियो ।

यसैबीच, नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोली ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । 


प्रतिक्रिया