स्वास्थ्यमा समस्या देखिएपछि रुबी खानलाई अस्पताल लगियो

आश्विन ३०, २०७८ | काठमाडौं

महिला हिंसा र हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनशनरत बाँकेकी रुबी खानलाई काठमौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

न्याय माग्दै विगत ८ दिनदेखि आमरण अनशनमा बसेकी खानको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अस्पताल भर्ना गरिएको बृहत नागरिक आन्दोलनका अगुवा डा. सञ्जीव उप्रेतीले बताउनुभयो । उप्रेतीसहितको टोलीले खानलाई आज अपराह्न अस्पताल लगेको हो । रुबीले अस्पतालमा पनि आमरण अनशन जारी राख्ने बताइएको छ । 

अधिकारकर्मी खान नेपालगञ्जको प्रहरी हिरासतमा रहँदादेखि आमरण अनशन बस्नुभएको थियो । न्यायको अपिल गर्दै पैदलै काठमाडौं आईपुगेकी खानलाई माइतीघरमा धर्नामा बसेका बेला प्रहरीले असोज २२ गते पक्राउ गरी भोलिपल्ट नेपालगञ्ज पुर्‍याएको थियो । 

खानलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, बन्दी प्रत्यक्षीकरणको निवेदनमा दायर रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पूर्वाग्रह राखी प्रहरीले खानलाई पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । 

अदालतको आदेशपछि खान गत बिहीबार रिहा हुनुभएको थियो । प्रहरी हिरासतमै आवरण अनसन सुरु गरेकी खानले त्यसपछि पनि काठमाडौं आएर त्यसलाई निरन्तरता दिनुभएको हो । बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरणपछि हत्या भएको भनिएको घटनामा अनुसन्धान गर्न अधिकारकर्मी खानले लामो समयदेखि माग गर्दै आउनुभएको छ । 

यस्तै, दुई सातादेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका रुबीकी अरु सहयात्रीलाई भने माइती नेपालले रातको बेला आश्रय दिने भएको छ । दसैं अवधिभर डा. उप्रेती र अर्चना थापाले उनीहरुलाई धर्नास्थलमै पुगेर खाना खुवाउने गरेका थिए । 


प्रतिक्रिया