चन्द नेतृत्वको नेकपासँगका सहमति कार्यान्वयन गर्न गृहमन्त्रीद्वारा पहल सुरु

आश्विन ३१, २०७८ | काठमाडौं

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपासँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थाल्नुभएको छ । 

उहाँले सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभएको हो । 

सरकार र चन्द नेतृत्वको नेकपाबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले ती सबै सहमति कार्यान्वयन गरिसकेको थिएन् । 

सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने विषयमा वर्तमान सरकार बनेपछि नेकपाका महासचिव चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, सत्ता गठबन्धन सम्बद्ध दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सहितलाई छुट्टा–छुट्टै भेट गरी आग्रह गर्नुभएको थियो ।

गृहमन्त्री खाँणले अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री खाँणले सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरुसँग गरेका वार्ता र उनीहरुका माग बारे जानकारी गराउनुभएको थियो । 

बैठकमा सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा फेरि एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरुसँग बसेर टुंग्याउने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा कानून सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाई गर्न मिल्ने बारे जानकारी गराएका थिए । 

कानून मन्त्रालयका सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाईका लागि आएका सिफारिस भएका मध्ये अधिकांश कार्यान्वयन भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया