सुदुरपश्चिम र कर्णाली प्रदेश सभापतिमा संस्थापन र गण्डकीमा इतर पक्ष विजयी

मंसिर १९, २०७८ | काठमाडौं

नेपाली कांग्रेसको सुदुरपश्चिम र कर्णाली प्रदेश सभापतिमा संस्थापन र गण्डकीमा इतर पक्ष विजयी भएको छ । सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायर बिजयी हुनुभएको छ । संस्थापन पक्षका बलायरले इतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गर्नुभएको हो । यस्तैं, उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी बिजयी भएका छन् । महामन्त्रीमा नरनारायण शाह र मेघराज खडका बिजयी भएका छन् । सहमहामन्त्रीमा गोपाद दत्त भट्ट, चिन्तामणी भट्ट र अम्विका चलाउने विजयी भएका छन् । यस्तै, कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजंग शाही विजयी हुनुभएको छ । उहाँले इतर पक्षका भुपेन्द्रजंग शाहीलाई पराजित गर्नुभएको हो । यस्तै, उपसभापितमा कालिबहादुर सहकारी र सनतकुमार कार्की विजयी भएका छन् । महामन्त्रीमा निरञ्जन केसी र कृष्णबहादुर रोकाय विजयी भएका छन् । सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँ कुमारी शाही विजयी भएका छन् ।

गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । उहाँले संस्थापन पक्षका अर्जुनप्रसाद जोशीलाई पराजित गर्नुभएको हो । गण्डकी प्रदेशमा एक उपसभापति बाहेक अन्य पदाधिकारीमा इतर प्यानल नै विजयी भएको छ । उपसभापतिमा संस्थापन पक्षका मेखलाल श्रेष्ठ र इतर पक्षका कल्पना तिवारी विजयी भएका छन् । महामन्त्रीमा विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्रीमा कोपीला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डे बिजयी भएका छन् । प्रदेश १ र लुम्बिनीमा मतगणना जारी छ । दुबै प्रदेशमा इतर पक्षका उम्मेवारको अग्रता छ । प्रदेश १ मा प्रतिद्धन्द्धी उद्धव थापालाई पछि पार्दै केन्द्रीय सदस्य समेत रहेका नेता गुरु घिमिरेले अग्रता लिनुभएको छ । प्रदेश १ मा ४ सय मत गणना भएको छ । यस्तै, संस्थापन पक्षका भरतकुमार शाहलाई पछि पार्दै लुम्बिनीमा इतर पक्षका अमरसिंह पुनले सुरुवाती अग्रतालाई कायमै राख्नुभएको छ । लुम्बिनीमा ४ सय ७८ मत मात्र गणना भएको छ । अब त्यहाँ १ हजार १ सय ५३ मत गणना गर्न बाँकी छ । बागमती प्रदेशमा मतगणनाको तयारी भइरहेको छ । ७ बजेबाट मतगणना सुरु हुने सहकर्मी सुवास विडारीले जनाएको छ । हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि बागमतीमा आज पुन: मतदान भएको हो । प्रदेश २ मा भने निर्वाचन प्रक्रिया नै अन्यौलमा परेको छ ।   


प्रतिक्रिया