सत्तारुढ गठबन्धनको निष्कर्ष: स्थानीय तहको निर्वाचनका लागि संवैधानिक र कानूनी जटिलता अन्त्य गर्नुपर्छ

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०७८ | काठमाडौं


सत्तारुढ दलहरुले स्थानीय तहको निर्वाचनबारे देखिएको संवैधानिक र कानूनी जटिलता अन्त्य गरेर निर्वाचन मिति घोषणा गर्ने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि दबाब बढ्दै गएका बेला आज बसेको सत्तारुढ दल आवद्ध राजनीतिक संयन्त्रको बैठकले मिति घोषणा अघि कानूनी जटिलता बारे थप परामर्श गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । त्यस्तै, उनीहरुले चुनावको मिति घोषणा बारे निर्वाचन आयोगसँग छलफल गर्ने भएका छन् । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरु संविधान अनुसार निर्वाचन गर्न प्रतिवद्ध रहेको र त्यसबारे आयोगसँग परामर्श हुने बताउनुभयो ।

बैठकमा सहभागी नेताहरुका अनुसार, निर्वाचन मितिबारे सत्तारुढ दलवीच एकमत हुन नसकेपछि थप छलफल गरेर त्यसलाई टुङगो लगाउने नीति लिइएको हो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले मिति घोषणा अघि संविधान र कानून अनुसार टुङगो लगाइने बताउनुभयो । निर्वाचन आयोगले आगामी बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरेसँगै प्रतिपक्षी एमाले लगायतबाट चुनावको मिति घोषणा गर्न सरकारलाई दबाब बढ्दै गएको छ । दबाबका बीच सत्तारुढ ५ दलले गठबन्धनको साझा धारणा बनाएर मात्र निर्वाचनको मिति घोषणा गर्ने रणनीति लिएका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले पाँच दलबीच सहमति भएपछि निर्वाचन आयोगसँग परामर्श गरिने जानकारी दिनुभयो । आगामी बिहीबार बस्ने राजनीतिक संयन्त्रको अर्को बैठकअघि कानूनी परामर्श गरिने नेताहरुले बताएका छन् । 


प्रतिक्रिया