धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक

माघ ४, २०७८ | काठमाडौं

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएका छन् । 

आज राति १२ बजेदेखि माघ मसान्तसम्म लागू हुने गरी मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै, काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् । जारी आदेश अनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने उल्लेख छ । 

यस्तै, आगामी शुक्रबार अर्थात माघ ७ गते पश्चात त्यस्ता कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई उपस्थित हुन पाउने आदेशमा उल्लेख छ । यसैबीच, प्रशासनको आदेश अनुसार सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन । 

सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न आदेशमा भनिएको छ । चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने छ । 

त्यस्तै, कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेेछ । 

प्रशासनले सार्वजनिक यातायातका साधनमा जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आदेश जारी गरेपनि त्यसको नियमित अनुगमन भने हुन सकेको छैन् । संक्रमण तीब्र भइरहँदा पनि अहिले सार्वजनिक यातायातका साधनमा सिट भन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ ।   


प्रतिक्रिया