सरकारी प्रयोगशालामा कोभिड १९ को परीक्षण नि:शुल्क

माघ ५, २०७८ | काठमाडौं

नेपालमा कोभिड १९ बढ्दो जोखिम बढ्दै गएको छ । गत साताको तुलनामा २७ दशमलव ३ प्रतिशतले संक्रमण दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जोखिम बढेसंगै सरकारले सरकारी प्रयोगशालामा कोभिड १९ को परीक्षण नि:शुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफ्रिङमा सह प्रवक्ता डा समिर अधिकारीले सरकारी प्रयोगशाला र स्थानीय तहमा कोभिड १९ संक्रमणको परीक्षण नि:शुल्क गरिएको जानकारी दिनुभयो ।

यस्तै लक्षण नदेखिएकाका लागि वा अन्य प्रयोजनका लागि कोभिड १९ परीक्षण शुल्क परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ । सरकार प्रयोगशालामा आरटी पीसीआर परीक्षणका लागि यसअघि लिइदै आएको शुल्क समायोजन गरी ८ सय कायम गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोभिड १९ संक्रमण अत्यधिक रुपमा पुष्टि भइरहेको छ । प्रत्येक दिन संक्रमितको संख्या एक हजार भन्दा बढीले बढ्दै गइरहेको छ । संक्रमितको संख्या अनुसार कोभिड १९ संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले डेल्टालाई प्रतिष्थापन गरेको विज्ञहरुले बताएका छन् । डेल्टा भेरियन्टको असर प्रत्यक्ष फोक्सोमा देखिने गरेको थियो । यसको असर तुलनात्मक रुपमा कम रहेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले ओमिक्रोनको असर माथिल्लो श्वासप्रश्वास प्रणालीमा बढी देखिएको बताउनुभयो ।

मन्त्तालयले आयोजना गरेको प्रेस व्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पौडेलले माघको तेस्रो सातापछि स्थिर हुने सरकारी प्रक्षेपण रहेको बताउनुभयो ।

यही गतिमा कोभिड १९ संक्रमण बढ्दै जाने हो भने मूलुकको स्वास्थ्य पूर्वाधारले थेग्न नसक्ने भन्दै चिन्ता समेत व्यक्त हुन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पौडेल भने जोखिमयुक्त अवस्थाका लागि सरकार तयारी अवस्था रहेको दाबी गर्नुभयो ।

कोभिड १९ संक्रमणको शंका लागे वा लक्षण देखिए अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्न मन्त्रालयले आग्रह गरेको छ । 


प्रतिक्रिया