मौसम बदली भएपछि देशभर चिसो बढ्यो, हवाइ उडान प्रभावित

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

पश्चिमी न्युन चापीय रेखाको प्रभावका कारण आज विहानैबाट देशभरको मौसम बदली भएको छ । मौसममा आएको परिवर्तनले देशभर चिसो बढेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सर्तकता अपनाउन पनि मौषमविद्को आग्रह छ । यस्तै, पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यसैवीच, प्रतिकूल मौसमका कारण मुलुकको हवाइ उडान प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि आकाशमा बाक्लो तुवालो र हुस्सु/कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंका अनुसार विशेष गरी देशको पूर्वी तराई भेगका विमानस्थलमा उडान प्रभावित भएको छ ।

अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुन सकेको छैन । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुरु भएको छ । एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् ।


प्रतिक्रिया