गठवन्धन दलको बैठक स्थगित

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज अपरान्ह बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । गठबन्धनमा आवद्ध ५ वटै दलका शीर्ष नेतावीच छलफल गरेर संयन्त्र बैठक बस्ने तय भएकोमा तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइएको छ । बैठक स्थगित भएको खबर आएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो । अर्को बैठकको मिति टुङगो लागेको छैन ।

सत्तारुढ दलले स्थानीय तहको निर्वाचन मिति घोषणा अघि संवैधानिक र कानूनी जटिलता अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यसबीचमा, निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह निर्वाचनका लागि ताकेता गरिरहेका बेला गठवन्धन दलभित्र पहिला संघीय निर्वाचन गरेर मात्रै स्थानीय तह निर्वाचन गर्ने विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो बैठकमा वैशाख /जेठमा संघीय निर्वाचन र कार्तिक/ मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव गठवन्धन दलको बैठकमा राख्नुभएको छ । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएकाले अव बिकल्प खोज्नुपर्ने बेला आएको अध्यक्ष दाहालको भनाइ छ । 


प्रतिक्रिया