नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार नाघ्यो, थप १६ को मृत्यु

माघ ८, २०७८ | काठमाडौं

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको हो । 

मन्त्रालयका अनुसार थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कुल २० हजार १ सय ८७ नमूना परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ३ सय ६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो ।


प्रतिक्रिया