गठबन्धन सरकारका कारण मुलुक संकटतिर: एमाले

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०७८ | काठमाडौं

प्रतिपक्षी एमालेले गठबन्धन सरकारको ६ महिनाको कार्यकालमा मुलुक संकटतिर धकेलिएको आरोप लगाएको छ । ८ पृष्ठको विज्ञप्ति जारी गर्दै एमालेले राज्यका अंगहरुवीचको सन्तुलन, मुलुकको अर्थतन्त्र र बाह्य सम्वन्ध लगायत क्षेत्र समस्याग्रस्त भएको टिप्पणी समेत गरेको छ । एमाले अध्यक्ष केपी ओलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा गठबन्धन सरकार, कोरोना रोकथाम र नियन्त्रणमा गैरजिम्मेवार बनाएको लगायत आरोप लगाइएको छ । एमालेले स्थानीय तहको निर्वाचन पछाडी धकेल्ने प्रयास भइरहेको समेत दावी गरेको छ । 

त्यस्तै, विकासको गति ठप्प भएको भन्दै मुलुकको अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत देखा परेको एमालेको भनाइ छ । महिनौंदेखि संसद अवरुद्ध गर्दै आएको एमालेले त्यसको बचाउ गर्दै सभामुखको भूमिकाका कारण संसदमा अवरोध सृजना गर्नुपरेको दावी समेत गरेको छ ।

यसैवीच, एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सो पार्टीका प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ओलीलाई कोरोना संक्रमण भएपछि एमालेले पत्रकार सम्मेलन स्थगित गर्दै प्रेस वक्तव्यमार्फत् मुलुकको अवस्थाबारे धारणा सार्वजनिक गरेको हो । 


प्रतिक्रिया